काठमाडौं, कार्तिक ६ । अचानक काठमाडौँमा देखिएका भारतीय गुप्तचर संस्था रअ (रिसर्च एण्ड एनालाइसिस विङ) का प्रमुख दिल्ली फर्किएका छन्। बुधबार नेपाल आएका रअ प्रमुख सामन्तकुमार गोयलले काठमाडौँमा केही नेताहरूलाइ भेटेको गाइँगुइँ चलेको थियो। तर क(कसलाई भेटे भन्नेबारे सरकारले कुनै ठोस जानकारी दिएको छैन, तर राजनीतिक वृत्तमा तरंग मच्चाएर गोयल भने बिहीबार स्वदेश फर्किसकेका छन्।
कसैलाइ थाहा नदिएर अचानक कूटनीतिक अनुमतिसहितको भारतीय विमान बुधबार काठमाडौँ भित्रिएको थियो। त्यसमा रअ प्रमुख गोयलको टोली काठमाडौँ आएको र आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको टोली देखा परेकाले उनी दिल्ली फर्किएको बताइएको छ। तर यसबारे सरकारले ठोस जानकारी दिन सकेको छैन।
स्रोतका अनुसार गोयलको टोली बिहीबार आईएफबी ६०४५ कल साइन नम्बरको चार्टर्ड विमानबाट गोयल स्वदेश फर्किएका हुन्। सोही विमानबाट बुधबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।
गोयलले बुधबार केही उच्च नेतृत्वहरूलाइ भेटेको जनाइएको छ। तर सत्तारुढ नेकपाकै सचिवालय नेताहरू समेत रअ प्रमुखको यो भ्रमणबारे अनविज्ञ रहेको जस्तो प्रतिक्रिया दिएका छन्।
नेकपा प्रवक्ता समेत रहनुभएका नारायणकाजी श्रेष्ठलले भारतीय गुप्तचर प्रमुख काठमाडौँ आएकोबारे सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि रअ प्रमुख काठमाडौँ आएकै हुन् कि हैनन् भन्नेबारे कुनै पुष्टि नभएको र पार्टीमा जानकारी समेत नभएको जनाएको छ। सचिवालयले अध्यक्ष प्रचण्डले रअ प्रमुखसँग नभेटेको समेत प्रष्टीकरण दिएको छ।


























