कार्तिक ६ । च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ। बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो।
पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो। तर सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए। इल्के गुन्डोगनले ६५ औं मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए। फेरन टोरेसले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ जित दिलाएका थिए। अग्युरोको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टोरेसले तेस्रो गोल गरेका थिए।
पेप ग्वार्डीओलाको टिमबाट पुरानो प्रर्दशन देखिएन। सिटी खतरनाक पोजिसनमा निकै सुस्त देखिथ्यो। तर पहिलो खेल उनीहरुले नियन्त्रणमा राखेका थिए।समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो।
इन्जुरी समयमा हसन महागुबले गोल गर्दै ओलम्पियाकोसलाई तीन अंक दिलाए। च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन्। पार्टो र मार्से अंक विहिन छन्। एजेन्सी


























