कार्तिक ६ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ। बुधवार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो। निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप्त रह्यो।
चोटका कारण लिभरपुल समस्यामा देखिएको थियो। मुख्य डिफेन्डर भर्जिल भान डिजिक बिनै लिभरपुल मैदान उत्रिएको थियो। तर लिभरपुलले अजाक्सविरुद्ध क्लिन सिट निकाल्न सफल बन्यो। साडियो मानेको क्रसलाई विफल बनाउन खोज्दा ट्यागलियाफिकोले आत्मघाति गोल गर्न पुगे। लिभरपुलले समूह चरणको खेलमा एटलान्टा र मिडजिलेन्डसंग प्रतिस्पर्धा गर्नेछ।
समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो। प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै एटलान्टा र लिभरपुलले समान ३ अंक जोडे। अजाक्स र मिडजिलेनड भने अंक विहिन रहे। एजेन्सी


























