चितवन, कार्तिक ५ । पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीका लागि घर निर्माण गरिएको छ।। कालिका नगरपालिका–५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो। वर्षात्को समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिएकाहुन्। निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो।
खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिएकाहुन्। गजुरेलले भने, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गरेको बताए।
गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षात्मा बसेको देखेर अगुवाहरुले शुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो। उनीहरुकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो। घर बनाउन रु तीन लाख खर्च भएको उनको भनाइ छ। घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु तीन लाख ४६ हजार पठाएका छन्। १४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन्। घर निर्माणको काम भोली मात्र सकिन्छ। ‘दाताको नाम लेखेर घर दशैं यतै औपचारिकरूपमा हस्तान्तरण गर्ने तयारीमा छौं’ उनले भने।
ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ। पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताए। मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहनुभएका चौधरीले बताए। ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमान्ले छाडेपछि स्थानीयवासीको गाईभैँसी चराउने काम गर्दै आएका थिए।


























