कार्तिक ५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन्। कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ। अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ। इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता बैंगलोरलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ। तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ। किनकि बैंगलोर सातौं जितको खोजीमा रहेको छ। बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। कोलकत्तालाई हराएर बैंगलोर शीर्ष टोलिसँग अंक बराबरी गर्न चाहन्छ।
यस्तै बैंगलोर कोलकत्ताविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। सिजनको पहिलो भेटमा कोलकत्तालाई बैंगलोरले ८२ रनले हराएको थियो।कोलकत्ता भने बैंगलोरसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। कोलकत्ताले बैंगलोरविरुद्ध मोर्गनसँगै दिनेश कार्तिक, आन्द्रे रसेल, कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडी मैदान उतार्ने छन्। बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























