कार्तिक २ । केन्याली धाविका पेरेस जेपचेयर्चरले महिलाको हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन्। पोल्याण्डमा भएको विश्व एथ्लेटिक्स हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान बनाएकी हुन्।
पेरेसले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्दै पोल्याण्डमा स्वर्ण जितेकी हुन्। २७ वर्षीय पेरेसले आफ्नै नाममा रहेको कीर्तिमानलाई १८ सेकेन्डले पछि पारेकी हुन्। पेरेसको यो दोस्रो विश्व च्याम्पियनसिपको उपाधि हो। यस अघि उनले २०१६ मा उपाधि जितेकी थिइन्।
म्याराथनमा जर्मनीकि मेलट यिसाक केजेटाले १ घण्टा ५ मिनेट १८ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन्। इथोपियाकि यालेमजेर्फले १ घण्टा ५ मिनेट १९ सेकेन्डको समयसहित तेस्रो स्थान हासिल गरिन्। पुरुषतर्फको उपाधि युगान्डाका जाकोब किप्लिमोले जिते। उनले ५८ मिनेट ४९ सेकेन्डमा दौड पुरा गरे। एजेन्सी


























