कार्तिक १ । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो। आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो। प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन।
फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए। पैगम्बर मोहम्मदको कार्टुन थियो। त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए। फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन्।
उनले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताएका छन्। राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गर्दै इस्लामिक आतंकवादीले आक्रमण गरेको बताएका छन्। एजेन्सी


























