काठमाडौं, असोज २९ । बिहीबार विश्व हात धुने दिवस नेपालमा पनि साबुनपानीले विभिन्न ठाउँमा हात धुने विषयमा जानकारी दिने तथा हात धुने कार्यक्रम गरी मनाइँदै छ। हातको सरसफाइ सबैका लागि, साबुनपानी हात सधै साथसाथ भन्ने नाराका साथ नेपालमा पनि विश्व हात धुने दिवस मनाइँदै छ।
विश्व हात धुने दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउन अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रपति भण्डारीले बिहीबार शुभकामना सन्देश दिदैँ कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता भएको पनि बताएका छन्।
साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिन्छ।
नेपालमा सन् २००८ अक्टोरबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ। विश्व हात धुने दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयको समन्वयमा असोज १३ गतेदेखि कात्तिक १४ गतेसम्म एक महिना तीनै तहका सरकार र सरोकारवालाहरुको साझेदारीमा देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ।


























