असोज २९ । यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराएको छ। बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो। फ्रान्सको जितमा केलियन एम्बाप्पेले विजयी गोल गरेका हुन्।
नेसन्स लिग फुटबलमा फ्रान्स अपराजित छ। उसले सन् २०१८ को विश्वकपको फाईनलमा जस्तै क्रोएसियाविरुद्ध जित निकाल्न सफल रह्यो। खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए।
एभर्टनका पूर्व खेलाडी निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए। केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए। खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे।
इन्जुरी समयमा क्रोएसियाले बराबरीको अवसर पाएको थियो। तर लेस्टरका पूर्व फरवार्ड लेडी क्रामरिकले बक्सभित्र प्राप्त बललाई सिधै गोलकिपर ह्युगो लोरिसको हातमा दिएका थिए। समूह ए थ्रीमा अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ। क्रोएसिया ३ अंक सहित तेस्रो स्थानमा छ। एजेन्सी


























