असोज २८ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
दुबई नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन्। दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली छैटौं जितको खोजीमा हुनेछ। अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ। श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली राजस्थानलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो। बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ। यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ। राजस्थान ७ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।
दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ। यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यस अघिको भेटमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो।
राजस्थानले दिल्लीविरुद्ध कप्तान स्मिथसहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन्। दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ।


























