काठमाडौं, असोज २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा.भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु अनिष्टताको संकेत भएको प्रतिक्रिया दिएका छन्।
सोमबार एक ट्वीट सन्देशमार्फत् प्रतिक्रिया दिँदै नेता रावलले उक्त अविश्वासको प्रस्तावप्रति पार्टी शीर्ष नेतृत्व गम्भीर हुनुपर्नेमा उनको जोड छ। ‘नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो,’ उनले लेखेका छन्, ‘निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ। समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरूले आइतबार अविश्वासको प्रस्ताव गरेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग आइरहेको बेला रावलले यस्तो प्रतिक्रिया दिएका छन्।
मङ्गलवार नेकपा कर्णाली प्रदेश कमिटीको संसदीय दलको बैठक बोलाइएको छ। यसबारे नेकपाका शीर्ष नेताहरु छलफल सुरु भएको छ।


























