चितवन, असोज २५ । नेपाली क्रिकेट समर्थक समाज चितवन जिल्लाको नयाँ कार्यसमिति चयन गरिएको छ। भरतपुरमा शनिबार भएको वार्षिक साधारण सभाबाट दिनेश नाइसाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।
सभाले उप संयोजकमा विकास पाण्डेय, सचिव विशाल पौडेल, कोषाध्यक्ष नविन ओलिया, सह सचिव मनिष लामिछानेलाई चयन गरेको छ। यस्तै सदस्यमा सुरक्षा भण्डारी, उमिशा ढकाल, अमिट गिरी र उत्तम शर्मा पौडेल रहेका छन्। कार्यसमितिका सबै निर्विरोध चयन भएका हुन्।
सभामा अघिल्लो कार्यकालको समीक्षा गर्दै आगामी कार्यकालको जिल्ला सम्बन्वय समितीको कार्यदिशाबारे बृहत छलफल समेत गरेको थियो। सन् २०१६ मा स्थापित समर्थक समाजले क्रिकेटमा भएको विकृतिमाथि आवाज उठाउने तथा खेलाडीलाई सहयोग गर्दै आएको छ।
समर्थक समाज चितवन जिल्लाले भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि पटक पटक सहयोग रकम तथा श्रम दान गर्दै आएको छ।


























