असोज २४ । युवा ब्याट्सम्यान सुभमन गिल र कप्तान दिनेश कार्तिकको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो। अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए। गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे। चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए। चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो।
तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए। स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए। मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए।
युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए। प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए।
रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए।


























