काठमाडौं, असोज २४ । सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ। डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको सरकारको भनाइ छ।
“हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ। संक्रमितको संख्या धेरै बढेको छ। अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन्। खचाखच बिरामी छन्,” नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेवर गौतमले भने, “उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ। यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ। यसकारण सबै सुरक्षित रहौं।”
पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन्। हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ। कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।


























