काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ। केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल हुने स्रोतले बताएको छ। यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी भएको थियो ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो।
तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन्। नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ।




















