काठमाडौं, असोज २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो।
हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको थियो। कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरु बीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो।
त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति,लुम्बिनी,जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो। सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।
भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो।


























