सुर्खेत, असोज २२ । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ। बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो।दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


























