असोज २० । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन्। उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए।
ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए। अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्। त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्। ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ।
अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्। ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन्। उनले भनेका छन्, हामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।
अमेरिकामा कोभिड-१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्। भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ । ह्वाइट हाउसका थप कर्मचारीहरू पनि सङ्क्रमित पुष्टि भएको छ। ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ। त्यसमा कैयौँ कनिष्ठ कर्मचारी छन्। बीबीसी


























