रौतहट, असोज १७ । रौतहटको इटाभट्टामा जिउँदै मान्छे जलाउने कार्यमा संलग्न थप एक अभियुक्त पक्राउ परेका छन्। प्रदेश २ प्रहरीले इटाभट्टाका तत्कालीन मुख्य मिस्त्रीलाई पक्राउ गरेको हो। प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनी रहेका छन्।
मोहम्मद अफताव आलमको चुनावी तयारीका क्रममा बम बनाइरहेका बेला विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा हालिएको थियो। २०६४ चैत २७ गते साँझ भएको उक्त घटनाका मुख्य अभियुक्त आलम पुर्पक्षका लागि थुनामा छन्। अन्य फरार रहेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको हो। घटनामा १५र१६ जना घाइते भएको र २र३ जनाको मृत्यु भएको थियो। उनीहरु सबैलाई इटाभट्टामा जलाइएको खुलेको हो।
पक्राउ परेका सहनीले आफू त्यतिबेला हेडमिस्त्री रहेको र आलमले भने अनुसार नै ट्याक्टरमा ल्याएका मान्छेलाई इटाभट्टामा हालेर जलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

























