असोज १७ । नेयमारको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो। एलेसेन्ड्रो फलोरेन्जीको गोलमा सातौं मिनेटमा पीएसजीले अग्रता बनाएको थियो।
३६ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए। उनले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए। इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो।
५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाउने काम गरे। इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए। खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए।
पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो। सिजनको सुरुवातमा दुई खेलमा पराजित बन्दै पीएसजीले लिगको खराब सुरुवात गरेको थियो।
नेयमार दुई खेलको प्रतिबन्ध पुरा गर्दै मैदान फर्किएपछि पहिलो पटक गोल गरेका हुन्। लिग लिडर रेनेस ५ खेलमा अपराजित हुँदै १३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। पीएसजी १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ। एजेन्सी


























