असोज १७ । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ। दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो। चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन्।
कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए। साम करन १५ रनमा अविजित रहे। हैदराबादका टी नटराजनले २ विकेट लिए। भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। १९ वर्षीय प्रियमको यो आईपीएलमा पहिलो अर्धशतक हो। यस्तै अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए। कप्तान डेभिड वार्नर २८ रनमा आउट भए।
चेन्नईका दिपक चाहरले दुई विकेट लिए। शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट लिए। जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ। चेन्नईको यो तेस्रो हार हो। चेन्नईले ४ खेलमा २ अंक जोडेको छ। चेन्नई तालिकाको पुछारमा रहेको छ। एजेन्सी


























