असोज १६ । टोटेनहम पोर्चुगिज क्लब बेन्फिकाका फरवार्ड कार्लोस भिनिसियस ल्याउन सहमत बनेको छ। एक सिजनका लागि ब्राजिली फरवार्डलाई लोनमा ल्याउन टोटेनहम सहमत बनेको हो। भिनिसियस यस सिजनको अन्त्यसम्म जोसे मौरिन्होको टिममा समावेश हुनेछन्। उनलाई ३६ मिलियन पाउण्डमा किन्न सकिने विकल्प समेत राखिएको छ।
२५ वर्षिया फरवार्ड नयाँ सिजनका लागि टोटेनहम आउने छैटौं खेलाडी हुन। मुख्य फरवार्ड ह्यारी केनलाई सहयोग उपलब्ध गराउने उद्धेश्य सहित उनलाई ल्याउन लागिएको हो। उनी सन् २०१९ मा १६ मिलियन पाउण्डमा इटालियन क्लब नापोलीबाट बेन्फिका पुगेका थिए । उनले सबै प्रतियोगितामा डेब्यु सिजनमै २४ गोलका लागि सहयोग गरेका थिए।
ब्राजिलियन फरवार्डसंग युभेन्ट्स र इन्टर मिलान समेत जोडिएका थिए। तर सोमबारको ट्रान्सफर विन्डो बन्द हुनुअघिनै टोटेनहम सम्झौताका लागि तयार देखिएको हो। मौरिन्होले कारबाओ कपमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि नयाँ फरवार्ड लिन लागेको बताएका थिए। मंगलबार भएको पेनाल्टी सुटआउटमा टोटेनहमले चेल्सीलाई पराजित गरेको थियो।
‘म आशावादी छु। तर मलाई जो मन पर्छ, उनी यही छन्। हामी उनलाई राम्रो बनाउन हरसम्भव कोशिश गरिरहेका छौ।’ मौरिन्होले भनेका थिए। ‘तिमी सफल हुन्छौ वा हुदैनौ। तर तिमी एक फुटबल खेल जस्तै हौ। तिमी जित्छौ वा तिमी जित्दैनौ। तर तिमीले सबै चिजका लागि तयार हुनुपर्छ। सरुवा बजार भनेको यस्तै हो।’ उनले थपे।
‘मलाई यो महशुश गर्न मन लाग्छ, मेरो क्लब हाम्रो लागि र टिमका लागि सबै चिज गर्न कोशिश गरिरहेको छ। यहीनै मेरा लागि सबैभन्दा महत्वपूर्ण छ।’ मौरिन्होले भने। टोटेनहम आईतबार प्रिमियर लिगमा फर्कदैछ। क्लबले ओल्डट्राफोर्डमा म्यान्चेष्टर युनाइटेडसंग प्रतिस्पर्धा गर्दैछ। एजेन्सी


























