असोज १६ । इण्डियन प्रीमियर लिगको १३ औ सिजनको १४ औँ खेल शुक्रबार दुबईमा हुँदै छ। आज चेन्नई सुपरकिङ्स र सनराइजर्स हैदराबादबीच खेल हुने छ। यो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुने छ। आइपिएलको जारी सिजन अन्तगर्त दुवै टोलीले तीन खेलमा समान एक जित र दुई हार व्यहोरेका छन्। यसअघि बिहीबार राति भएको खेलमा किङ्स इलेभेन पञ्जाबलाई पराजित गर्दै मुम्बई इण्डियन्स विजयी भएको थियो।
साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको हो। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गर्यो। एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो।
पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पञ्जाबको भने तेस्रो हार हो।
पञ्जाबले टस जितेर पहिला बलिङ रोजेपछि मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो। मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे।
यस्तै हार्दिक पाण्ड्याले ११ बलमा २ छक्का र ३ चौकासहित अविजित ३० रन बनाए। २० औँ ओभरमा कृष्णप्पा गोथामलाई पोलार्डले लगातार तीन छक्का प्रहार गरे। त्यस ओभरमा पाण्ड्याले पनि एक छक्का प्रहार गरे।
१९ औँ ओभरमा मोहम्मद सामीलाई पोलार्डले लगातार तीन चौका प्रहार गरेका थिए। त्यस ओभरमा पाण्ड्याले पनि एक चौका हिर्काए। मुम्बईले अन्तिम पाँच ओभरमा मात्र ८९ रन जोड्यो। त्यसमा पनि अन्तिम तीन ओभरमा मात्र ५९ रन जोड्यो। टोलीका लागि सर्वाधिक रन भने कप्तान रोहित शर्माले जोडे। उनी ७० रन बनाएर आउट भए। उनले ४५ बलमा तीन छक्का र ८ चौका प्रहार गरे। एजेन्सी


























