काठमाडौं, असोज १६ । आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ। दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन्। यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो। खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन्।
दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनमा खसीबोका खपत धेरै हुने गर्छ। यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन्। दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन्। अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ। कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवासायीको भनाइ छ। दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको व्यवसायी दिपक थापाले जानकारी दिए।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने उनले जानकारी दिए। अहिले दैनिक एक हजार संख्यामा खसीबोका भित्रिने गरेका छन,” उनले भने, “घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन्।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको उनको भनाइ छ। लकडाउनदेखि नै उपत्यकामा नियमतिरूपम खसीबोका आयात भइरहेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ। स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन्।


























