असोज १२ । अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ। ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो। अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय करवापत जम्मा ७ सय ५० डलर मात्रै तिरेकाछन्।
राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौका मालिक ट्रम्पले संघीय आयकर ७ सय ५० डलर मात्रै तिरेको खुलासा भएको टाइम्सको खबरलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष त आय कर नै तिरेका छैनन्। कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ।
दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहेका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो। राष्ट्रपति ट्रम्पले भने उक्त समाचार झूठो भएको भन्दै आपत्ति जनाएकाछन्। ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको दावी गरेकाछन्। एजेन्सी


























