असोज १२ । यतिखेर प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला। जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन। अझ भन्नु पर्दा त प्राय मानिसले धिरौला मन पराएको पाइँदैन। बालबालिकाको कुरा गर्नु पर्दा सोयबिन र आलु अत्यन्तै मन पराउने तर घिरौला त हेर्दा पनि नहेर्ने गरेको पाइएको छ।
सञ्चार माध्यमहरुमा घिरौला २ रुपैयाँ प्रतिकिलोमा पनि बिक्री नभएको, वस्तुभाउलाई खुवाउने गरेको वा सडकमा त्यसै फ्याँकिएको जस्ता समाचारहरु बाराम्बार आइरहन्छन। हाल सामाजिक सञ्जालमा देखापरेका घिरौलाबारे नकारात्मक कविता, गीत तथा भिडियोहरुले पनि यसको उपभोगलाई वृद्धि गर्नुका साटो बहिस्कार गर्न मद्दत पुर्याएको छ।
घिरौलाबारे जानकारी प्राप्त भएपछि यसको प्रयोगमा अवश्य वृद्धि हुनेछ भन्ने आशाका साथ यसका फाइदाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ। घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ। यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ। यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्याउँछ।
घिरौला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ। प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु घिरौलामा पाइन्छ।
यस्ता छन् घिरौलाका फाइदा :
१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।
३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।
४. चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।
५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।
७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ।
९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।
१०. यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ।
कुनै पनि चिज लगातार एउटै स्वादमा बारम्बार खाइरहँदा त्यसको रुचि कम हुँदै जानु स्वभाविक हो। त्यसैले घिरौलालाई पनि फरकफरक किसिमले पकाउने, स्वाद अनुसारका मसलाको प्रयोग गर्ने हो भने रुचिमा अवश्य वृद्धि हुन्छ।
























