काठमाडौं, असोज १२ । सरकारले मदिराको आयात खोल्ने तयारी गरेको छ। करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने तयारी अघि बढाइएको हो। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेको थियो।
औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ। ‘अब मदिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले भन्यो, ‘दसैं अगाडि नै यो निर्णय हुन्छ।’
नेपालमा विदेशबाट महँगा मदिरा भित्रिने र त्यसको असर विदेशी मुद्रा सञ्चितिमा पर्ने भन्दै आयात रोक्ने निर्णय भएको थियो। मदिरा तथा मदिराका कच्चा पदार्थ गरी वार्षिक ५ अर्ब रूपैयाँभन्दा धेरैको आयात हुने गरेको छ। त्यसबाट सरकारले मासिक ५० करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो।


























