असोज ११ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) राजस्थान रोयल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। सारजाहमा राजस्थान आफ्नो दोस्रो र पन्जाब तेस्रो खेलका लागि मैदान उत्रने छन्। राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सारजाह क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन्।
स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान पन्जाबलाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो। पन्जाबविरुद्ध मैदान उत्रदा राजस्थान उक्त लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो। तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो।
तेस्रो खेलमा भने पन्जाब जित निकाल्न चाहन्छ। जसका लागि बलियो राजस्थानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ। पछिल्लो पाँच खेलको नतिजा हेर्दा पन्जाब बलियो देखिएको छ। गत सिजनको दुई भेटमा समेत पन्जाबले बाजी मारेको थियो। गत संस्करणमा भएको पहिलो भेटमा पन्जाबले १४ रनको जित निकालेको थियो। दोस्रो भेटमा पन्जाब १२ रनले विजयी भएको थियो।
पन्जाबविरुद्ध राजस्थानले कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन्। यस्तै पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























