चितवन, असाेज ११ । साहित्यकार सञ्जीव उप्रेतीकाे उपन्यास ‘हंस’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ। प्रतिष्ठानले यसवर्ष पद्मश्री साधना सम्मानबाट भने साहित्यकार माेदनाथ प्रश्रितलाई सम्मान गर्ने निर्णय गरेकाे छ। चितवनकाे रत्ननगरमा रहेकाे खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै वि.सं. २०७६ सालको पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मानकाे घाेषणा गरेकाे हाे। हरेक वर्ष काेजाग्रत पूर्णिमाकाे दिन प्रदान गर्दै आएकाे पुरस्कार र सम्मानकाे राशी तीन-तीनलाख रुपैयाँ रहेकाे छ।
तर यसवर्ष परिस्थिति सहज नभएकाले वर्षकाे अन्तिमसम्ममा पुरस्कार र सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए। प्रतिष्ठानले विसं २०६३ सालबाट पुरस्कार स्थापना गरेकाे हाे। त्यसयता हरेक वर्ष वर्षभरि प्रकाशित भएका साहित्यसँग सम्बन्धित पुस्तकबाट छनाैट गरेर एउटा कृतिलाई पुरस्कार प्रदान गर्दै आइरहेकाे छ भने २०६७ सालमा स्थापना भएकाे पद्मश्री सम्मान भने कला, साहित्य, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्दै आएका साधकलाई प्रदान गर्दै आएको छ।

उपन्यास ‘हंस’मा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन्। लेखक तथा साहित्यकार प्रश्रित भने विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनमा सक्रिय छन्। समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका प्रश्रित पूर्वीय दर्शन तथा मार्क्सवादी बिचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन्।


























