असोज ११ । भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु भएको छ। उनी लामो समयदेखि बिरामी थिए। भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो। राजस्थानको बाडमेरका सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनाका मेजर पनि थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्। मोदीले ट्वीटमा भनेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर। अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे। उनको निधनले दुःखी छु।’
त्यसपछि उनले अर्को ट्वीट गरे। उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ। उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे। उनको परिवार स समर्थकसँग मेरो समवेदना छ। ओम शान्ति।’एजेन्सी


























