काठमाडौं, असोज ७ । नेपाली मूलधारका प्रकाशन गृह तथा स्याटेलाइट टेलिभिजन मालिकहरुको छाता संगठन मिडिया सोसाइटी विभाजित भएको छ।मिडिया सोसाइटीबाट भास्करराज कर्णीकारको नेतृत्वमा छुट्टिएको टिमले आज मिडिया एलाइन्स नामक समानान्तर संगठन गठन भएको घोषणा गरेको छ।
“पहिला टेलिभिजन ब्रोडकास्टर एसोसिएसन थियो। पछि मिडिया सोसाइटी हुँदै अहिले मिडिया एलाइन्स नेपाल खुल्यो,” भाष्करराज कर्णिकारले नयाँ संस्था स्थापनाबारे जानकारी दिँदै भने, “व्यवस्थित सञ्चार उद्योगलाई एक जुट बनाउने लक्ष्यसहित मिडिया एलाइन्स सुरु भएको हो।”
आज गठन भएको मिडिया एलाइन्समा ११ सदस्यीय तदर्थ समिति रहेको र यसले छापा, टेलिभिजन, रेडियो र अनलाइन मिडियालाई समेट्ने कर्णिकारले जानकारी दिए। कर्णिकारको अध्यक्षतामा रहेको कार्यसमितिमा महेन्द्र शेरचन र जाजु कँडेल उपाध्यक्ष छन्।
यस्तै, महासचिवमा लक्ष्मण पौडेल, कोषध्यक्षमा उज्जवल शर्मा छन्। डा. विजय पौडेल, ऋषि धमला, राजेन्द्र शाक्य र सम्वृद्धि ज्ञवाली सदस्य छन्। त्यसैगरी, रामेश्वर थापा र विनोद ज्ञवाली संस्थाको सल्लाहकार छन्।
कोरोना भाइरस महामारीका कारण देखाउँदै नेपालमा विभिन्न सञ्चार माध्यमहरु बन्द हुनुका साथै सञ्चार माध्यममा कार्यरत पत्रकार/कर्मचारीहरुको पारिश्रमिक सम्बन्धि विवाद भइरहेका बेला मालिकहरुको नयाँ संस्था खुलेको हो।
नयाँ संस्थामा आबद्ध केही मालिकहरुका सञ्चार गृहमा पत्रकार तथा कर्मचारीहरु काम गरेको पारिश्रमिक नपाएका कारण आन्दोलनमा छन्।


























