चितवन, ४ असोज । कोरोना भाइरस संक्रमणको जोखिमका कारण कालिका मिडियाले भर्चुअल विधिबाट वार्षिकोत्सव मनाउने भएको छ। कालिका एफएम प्रालिको १८औं तथा टिभी कालिका एचडीको छैटौँ वार्षिकोत्सवलाई भर्चुअल विधिबाट मनाउने तयारी भइरहेको कालिका ग्रुपका अध्यक्ष बिक्रम पाण्डेले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्। पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष पाण्डेले परिस्थिति असहज भएका कारण यसवर्ष सूचना तथा प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनको माध्यमबाट वार्षिकोत्सव मनाउन लागेको जानकारी दिए।
स्थापनाकालदेखि नै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सव मनाउँदै आएको छ। तर यसपटक विगतका वर्षमा जस्तो ठूलो कार्यक्रम गर्ने वातावरण नभएकोले सूचना प्रविधिको उच्चतम प्रयोगबाट मनाउने र आगामी वर्षहरुमा फेरि विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ। असोज १२ गतेबाट सुरु हुने वार्षिकोत्सवमा यसपालि १२ वटा कार्यक्रम हुनेछन्। देवघाटको वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकलाई खाना खुवाएर सुरु हुने वार्षिकोत्सवमा फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम, ‘कृषिमा आधुनिकरण र अवसर’, अपांगता भएका व्यक्तिबीच वादविवाद प्रतियोगिता, वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्तरक्रिया, बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया गरिनेछ।
कालिका मिडियाका निर्देशक दीपक पौडेलका अनुसार एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गर्ने कार्यक्रमसमेत तय भएको छ। साथै अन्य कार्यक्रमहरुमा कालिकासँगका यादहरु, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन, कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्तर्क्रिया, अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, लोकगीत गायन प्रतियोगिता हुनेछ भने प्रतियोगितामा बिजेता बन्न सफल प्रतिभालाई असोज २६ गते वार्षिकोत्सवको समापन कार्यक्रमबाट पुरस्कृत गरिने निर्देशक पौडेलले जानकारी दिए।
विगतमा राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्ड लगायतका कार्यक्रम हुँदै आएको थियो। वि.सं. २०५९ देखि कालिका एफएम ९५.२ प्रशारणमा ल्याएको कालिका मिडियाले २०६४ सालदेखि भने ९१ मेगाहर्जबाट सांगितिक रेडियो प्रशारण गर्दै आएको छ। काल कालिका मिडियाअन्तरगत २०७१ सालदेखि टिभी कालिका एचडी प्रशारण गर्दै आएको छ भने अनलाइनमा कालिका न्यूज डटकम पनि प्रकाशन गरिरहेको छ।


























