काठमाडौं, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताको अपेक्षा पूरा गर्न व्यापक विकास परियोजना अघि बढाइने प्रतिबद्धता जनाएका छन्। पाँचौं संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जनताले नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा आभार प्रकट गर्दै त्यसलाई न्याय गर्न व्यापकरूपमा विकासका परियोजना अघि बढाइने जनाए। राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन्।
सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए। ‘संविधान बनाउनका निम्ति त्याग, तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु, घाइते र अपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जलि एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन्।


























