असोज १ । भारतका पूर्व क्रिकेटर अजित अगरकरले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रेकथ्रु बन्न सक्ने बताएका छन्। क्रिकइन्फोसँगको कुराकानीमा अजितले दिल्लीको लागि नेपाली स्पिनर सन्दीप ब्रेकथ्रु बन्न सक्ने बताएका हुन्। सन्दीपमा थुप्रै क्वालिटी रहेको खेल अनुसारको ‘माइण्ड मेकअप’ गर्न सक्ने क्षमता भएकोले दिल्लीका लागि सन्दीप ब्रेकथ्रु बन्न सक्ने अजितले बताएका हुन्।
दिल्लीको टिमको प्रिभ्युमा अजितसँगै गौतम गम्भीर, आकाश चोपडा, दिप दास गुप्ता, रौनक कपुरले र डस्टिन सिल्गार्डोको कुरा समेत राखिएको छ। उनीहरुलले पनि सन्दीप दिल्लीको ४ विदेशी खेलाडीको रोजाइ भित्र पर्न सक्ने बताएका छन्।
प्लेइङ सेटको चार विदेशी खेलाडीको रुपमा सन्दीपलाई समेट्ने विश्लेषकहरुको बहुमत देखिएको हो। आईपीएलमा कुनै एक खेलमा बढीमा ४ विदेशी खेलाडी खेलाउन पाउने प्राबधान छ। अजित, आकाश, दिपदास र रौनकले दिल्लीले ४ विदेशी खेलाडी खेलाएमा सन्दीपलाई समेट्ने बताए।
सन्दीप लगातार तेस्रो पटक आईपीएल खेल्न युएई पुगिसकेका छन्। ६ दिनको क्वारेन्टिन र ३ चरणको पीसीआर परिक्षणमा कोरोना नेगेटिभ देखिए सन्दीप टिमसँग सामेल हुने छन्। कोरोनाको महामारीको कारण भारतमा आयोजनाको सम्भावना नभएपछि १३ औं संस्करणको आईपीएल युएईमा हुन लागेको हो।
शनिबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपको टिम दिल्लीको पहिलो किङ्स इलाभेन पन्जाबविरुद्ध रहेको छ। तर, सन्दीपले आइतबार हुने पहिलो खेल खेल्ने सम्भावना छैन। किनकि सीपीएल खेलेर युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेका छन्। डेब्यु वर्ष सन्दीपले आईपीएलमा ३ खेल खेल्दा दोस्रो वर्ष दिल्लीबाट ६ खेल खेल्ने मौका पाएका थिए।


























