असोज १ । इङ्ल्याण्डबिरुद्धको एक दिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो। इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३ को लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो। ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जित दिलाएका हुन्।
म्याक्सवेलले ९० बलमा १ सय ८ रन बनाए भने केरीले १ सय ६ रनको शानदार पाली खेले। ७३ रनमा ५ विकेट गुमाएर दबाबमा आएको अष्ट्रेलियाको इनिङ्स केरी र म्याक्सवेलले उकासेका थिए। दुवै मिलेर छैटौ विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए। इङ्ल्याण्डका क्रिस वाक्स र जोए रुटले समान २–२ विकेट लिएका थिए।
यसअघि, घरेलु टिम इंग्ल्यान्डले अष्ट्रेलियालाई जितका ३ सय ३ रनको लक्ष्य दिएको थियो। ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो। इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले। यस्तै साम बिलिङ्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस वोक्सले अविजित ५३ रन बनाए।
कप्तान इयान मोर्गनले २३ रन जोड्दा टम करनले १९ रन बनाए। अष्ट्रेलियाका एडम जाम्पा र मिचेल स्टार्कले ३/३ विकेट लिए। पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो। भने दोस्रो खेल इंग्ल्यान्डले २४ रनले जितेको थियो। म्याक्सवेल ‘म्यान अफ दी म्याचुसंगै ‘प्लेयर अफ द सिरिजु घोषित भए। यसअघि भएको टी-ट्वान्टी सिरिज भने घरेलु टोली इङ्ल्याण्डले जितेको थियो। एजेन्सी


























