काठमाडौं, भदौ ३१ । औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ। दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ।
चीन, भारत, काठमाण्डौ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो। यो स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो।
यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ। ललितपुरमा रहेको सम्पदा हेल्थ केयरले उत्पादन गरेको सासा इस्ट्यान्ट र श्रीनाथ हर्बल कस्मेटिक इण्डस्ट्री काठमाण्डौले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ।
चार कम्पनीका उत्पादन तत्काल बजारमा बिक्रीमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ।


























