भदौ २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे। यस्तै भिर्गिल भान डाइकले एक गोल गरे।
लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए।
रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए।
२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो। तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए। खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए।
तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए।
यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।
च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ। लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो। एजेन्सी


























