काठमाडौं, भदौ २६ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ।
एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको हो।
एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको जानकारी गराए।
‘नेपालमा भएका र हामीले भेटका करिब ५० जना ओलम्पियन खेलाडी, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको कोरोना बिमा गरेका छौँ,’ उपाध्यक्ष बैद्यले भने, ‘छुटेका ओलम्पियन खेलाडी र अन्यको फेरी गरिने छ।’
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले उनीहरुको कोरोना बिमा गरेको हो। एनओसीको शनिबार बसेको बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो।
एनओसीले सबैको १ लाख बराबरको कोरोना बिमा गरेको हो। एभरेस्ट इन्सुरेन्स कम्पनीबाट उनीहरुको बिमा गरिएको उपाध्यक्ष बैद्यले जानकारी गराए।
कोरोनाबाट गत महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए। महासचिवसहित सबै कर्मचारी कोरोनाबाट मुक्त भईसकेका छन्।


























