काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान ११ बजेपछि जारी बैठकमा आफ्नो भनाइ राख्दै नेता नेपालले दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल नहुने बताएका हुन्।
विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनबारे सचिवालयमा राखेको १५ बुँदे प्रस्ताव स्थायी कमिटी बैठकमा पनि पेश गरिएको छ।
एक स्थायी कमिटी सदस्यका अनुसार नेता नेपालले पार्टीलाई विधिसम्मत चलाउनुपर्ने बारे आफूले उठाउँदै आएको अडान नत्याग्ने बताएका हुन्।
दिउँसो सवा २ बजेसम्म अध्यक्ष एवं प्रधानमन्त्री ओली, माधव नेपाल, देव गुरुङ, लीलामणि पोखरेल, मात्रिका यादव, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य र रघु पन्तले धारणा राखिसकेका बैठकको बीचमा बाहिरिएका स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
बैठकको शुरूमा संक्षिप्त सम्बोधन पछि पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए। ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका छन्।
कोरोना संक्रमणको खतरा रहेको भन्दै बैठक शुक्रवार नै टुंग्याउने तयारी भइरहेको छ।
असार १० गते शुरू भई पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो।


























