काठमाडौं, भदौ २५ । काठमाडौं उपत्यकामा तीन हप्तादेखि लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ। स्थानीय प्रशासनले आर्थिक गतिविधिलाई चलायमान राख्नका लागी भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न पाउनेदेखि निजी सवारी साधनलाई जोरबिजोरका आधारमा चलाउन दिइएसँगै राइड सेयरिङ सेवा टुटल र पठाओ पनि आजदेखि संचालनमा आएका छन्।
निषेधाज्ञा खुकुलो भएर अन्य सार्वजनिक यातायात सञ्चालन आएसँगै आजदेखि सेवा सुरु गरेको पठाओका म्यानेजर शशांक थापाले जानकारी दिए। उनले मोटरसाइकल र ट्याक्सी दुवैले बिजोर नम्बर प्लेटका आधारमा सेवा सुचारु गरिएको बताए।
सरकारको स्वास्थ्य मापदण्ड अनुसार राइडरहरुलाई प्रोटेक्टिभ सुट, स्यानिटाइजर, मास्क र ग्लोब्स अनिवार्य गरिएको छ। यात्रु चढाएपछि सिटलाई स्यानिटाइज गर्ने र ट्याक्सीमा राइडरलाई सिल गरिएको तथा मास्क प्रयोग नगरेका यात्रु चढ्न नपाउने थापाले बताए। त्यस्तै, टुटल संचालक शिक्षित भट्टले पनि सेवा सुरु भएको जानकारी दिए।


























