भदौ २२ । घरेलु टोली इङ्ग्ल्यान्ड र अस्ट्रेलिया बीचको ३ खेलको टि- २० सिरिज अन्तर्गतको दोस्रो खेल पनि इङ्ग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा इङ्ग्ल्यान्डले २ रनको रोमाञ्चक जित हात पारेको थियो।
गए राति भएको दोस्रो खेलमा ६ विकेटले विजयी हुँदै इङ्ग्ल्यान्डले एक खेल अगावै सिरिज आफ्नो नाममा गराएको छ। इङ्ग्ल्यान्डले सिरिजमा २-० को अग्रता लिएको हो।
साउथह्याम्टनस्थित द रोस ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको सामान्य योगफल तयार पारेको थियो।
१५८ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
इङ्ग्ल्यान्डका लागि जोस बटलरले अर्धशतकीय पारी खेले। ५४ बलको सामना गरेका उनले ८ चौका तथा २ छक्काको मदतमा अविजित ७७ रन प्रहार गरे। डेविड मलानले ४२ रनको योदान दिँदा मोेइन अलीले अविजित १३ रनको योगदान दिए।
अस्ट्रेलियाका लागि एस्टोन अगरले २ तथा एडम जाम्पा र मिचेल स्टार्कले समान १/ १ विकेट हात पारे।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कुनै पनि ब्याटसम्यानले उल्लेखनीय योगदान दिन सकेनन्। उसका लागि कप्तान आरोन फिंचले सर्वाधिक ४०, मार्कस स्टोनिसले ३५ तथा ग्लेन म्याक्सवेलले २६ रनको योगदान दिए।
इङ्ग्ल्यान्डका लागि क्रिस जोर्डनले २ तथा जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो।
अब तेस्रो तथा अन्तिम खेल मंगलबार साविककै मैदानमा हुनेछ। एजेन्सी


























