बागलुङ, भदौ २१ । लघु जलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ। बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ। सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिन दिन र समन्वयमा कठिनाइको स्थिति छ। उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन। विपद् स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन्। लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं। १, २, ५, ६, ७, ८ र ९ अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताए। “भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ”, उनले भने, “बिजुली नहुँदा उद्धार, व्यवस्थापन लगायतका काममा समस्या भइरहेको छ।” क्षति पुगेका आयोजनामध्ये केही बृहत र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ।
उनका अनुसार विद्युत् सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ। केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका सर्वसाधारण लघु जलविद्युतका भरमा छन्। लामो समय विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ। ब्याट्रीले केही घण्टा मात्र थेगे पनि त्यसपछि टावर बन्द हुन्छ। नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताए। “बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्यो भन्दा भने सम्पर्क टुटेको छ”, उनले भने, “दुवै टावरमा सौर्य ऊर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ।” दुई/चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उनले बताए।
बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ। सडक अवरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ। अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नु पर्छ। बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पुर्याएको छ। बाढीमा परी १६ जनाको मृत्यु भएको छ। बाइस जना अझै बेपत्ता छन्। बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ। एक स्वास्थ्यचौकी भवन, दुई विद्यालय, ११ झोलुङ्गे, पाँच ढलान र दश काठे पुलमा क्षति पुगेको जनाइएको छ। रासस


























