भदौ २१ । सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल) मा बार्बाडोस ट्राइडेण्ट्ससंग ७ विकेटले पराजित भएको छ।
सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै १ विकेट लिएपनि जमैका बार्बाडोससंग ७ विकेटले पराजित बनेको हो।
जमैकाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
बार्बाडोसको जितमा कप्तान जसन होल्डरले ६९ रन बनाए। उच्च योगफलतर्फ अघि बढेका होल्डरलाई सन्दीपले बोल्ड गरेका थिए।
टोलीका जोनाथन कार्टर ४२ र मिचेल स्याटनर ३५ रनमा अविजित रहे।
सन्दीपले अन्य बलरको तुलनामा किफायती बलिङ प्रर्दशन गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाउँदै जमैकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय ईनिङ्स खेल्दै जमैकालाई उच्च योगतर्फ अघि बढाएका थिए। तर अन्य ब्याट्सम्यान चल्न नसकेपछि जमैकाले मध्यम स्कोर मात्र बनाउन सक्यो। ग्लेन फिलिप्सले १७ रन बनाएका थिए।
अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ। यसअघिनै सेमिफाईनलमा पुगेको जमैका समूह चरणमा चौथो स्थान भन्दा माथि उठ्न नसक्ने देखिएको छ। जमैका ९ खेलबाट ७ अंक सहित चौथो स्थानमा रहेको छ।
जमैकाले अब सेमिफाइनलमा शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
सन्दीपले प्रतियोगितामा राम्रो बलिङ प्रर्दशन गर्दै आएका छन्। उनले ८ इनिङ्समा ११ विकेट लिन सफल भएका छन्। एजेन्सी


























