भदौ २० । अष्ट्रेलियासँगको तीन खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ।
शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जीत निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको हो।
इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो। एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो। १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो।
१९ औं ओभरमा क्रिस जोर्डनले एक रन आउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो।
अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे। तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २-२ रन जोडे।
अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके। उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे। उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे। क्रिस जोर्डनले १९औं ओभर र टम करनले २०औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्डले जित हात पारेको हो।
त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, पनि अष्ट्रेलियाले खेल जित्न सकेन । दोस्रो खेल आइतबार साउथह्याम्पटनमै हुनेछ। एजेन्सी


























