काठमाडौं, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ थियो।
पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो।
मन्त्रालयका अनुसार मंगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको थियो। पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ।


























