काठमाडौं, भदौ १७ । सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद र ७० करोड प्रकरणमा जोडिएका स्वीस कम्पनीका नेपाली एजेन्ट हुन् विजयीप्रकाश मिश्र। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदका क्रममा ठूलो रकमको कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको अडियो उनले नै बाहिर ल्याएका थिए।
यसै काण्डमा जोडेर आफ्नाविरुद्ध अनर्गल प्रचार गरेको भन्दै उनले आपत्ति जनाएका छन्। उनले आफू अहिले सोही काण्डको रेकर्डेड डिभाइस लिन जापान गएको दावी गरेका छन्। यसै विषयलाई लिएर नेपालमा केही मिडियाहरुले आफू भागेको भन्ने गलत हाल्ला चलाएको मिश्रको भनाइ छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाइ आफूसँग सो डिभाइस मागेको र त्यसपछि त्यही लिनका लागि जापान पुगेको उनको दावी छ। मिश्रले बुधबार बिहान नेपालमा विभिन्न मिडियाहरुमा पठाएको प्रेस विज्ञप्तिमा आफू छिट्टै नेपाल फर्किन लागेको जानकारी दिएका छन्।
अख्तियारका अनुसन्धान अधिर्कतसँग आफ्नो कुराकानी भइरहेको उनले बताएका छन्। राष्ट्रिय दैनिक, अनलाइनहरुले आफ्नाविरुद्ध गलत प्रचार गरेको र त्यो सत्य नभएको उनले बताएका छन्।
राज्य र कानुन भन्दामाथि कोही नहुने सबैले गल्तीका भागीदार हुनुपर्ने मिश्रको भनाइ छ। केही मिडियाले तथ्य र प्रमाणका आधारमा नभइ आफ्नो चरित्रहत्या गर्ने नियतले समाचार प्रकाशन गरेको आरोप मिश्रले लगाएका छन्।


























