काठमाडौं, भदौ १७ । नेपाल आयल निगमले पट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
यससँगै अब पेट्रोलको मूल्य १०७ रुपैयाँ पुगेको छ। डिजेल, मटीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार पठाएको मूल्यअनुसार निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। निगम प्रवक्ता वीनितमणि उपाध्यायले भारतबाटै मूल्य बढेर आएकाले पेट्रोल लिटरमा दुई रुपैयाँ बढाइएको जानकारी दिए।
मूल्य समायोजन गरेपश्चात पनि भारतीय सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३२ रुपैयाँ र डिजेल ३६ रुपैयाँ सस्तो रहेको निगमले जानकारी दिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढ्दै गएको छ। कोराना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले गत दुई सातादेखि निषेधाज्ञा गरेसँगै बजारमा इन्धनको खपत भने न्यून छ।


























