काठमाडौं, भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागिएको घटनामा मुछिएका विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ। तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ।
‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृतसमक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए। सो अडियो मिश्रले नै गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप लगाउँदै बास्कोटाले उनलाई कारबाही गर्न अदालतमा मुद्दा हालेका छन्।


























