काठमाडौं, भदौ १६ । प्रदेश नम्बर १ का ४ जिल्लामा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान ४ बजे जारी गरेको सूचनामा इलाम, झापा, सुनसरी, मोरङ जिल्लामा ६ घण्टा भारी वर्षा भएको छ।
भारी वर्षासँगै मेची, निन्दा, बिरिङ, मावा, नुना, बुढीखोला तथा कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य स(साना खोलामा आकस्मिक बाढी आउने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ।
यस्तै, गएराति कास्कीको पोखरा एयरपोर्ट आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले भने आज देशका अन्य प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
महाशाखाका अनुसार अहिले प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ।


























