चितवन, भदौ १५ । माछापोखरी वरपर छाडिएको करेन्ट लागेर भरतपुरमा दुई जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–८ सल्यानीटोलमा रहेको माछापोखरीमा सोही वडाको आदिवासी टोल बस्ने लगभग ३५ वर्षका नवराज दराई र निरबहादुर राना मगर मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यो माछापोखरी नवलपुर गैंडाकोटका चुडामणि शर्मालगायतको रहेको प्रहरीको भनाइ छ।
‘माछा चोरी हुन थालेपछि पोखरी वरपर करेन्ट छोड्ने गरेको भन्ने बुझेका छौं। मृतकहरु पोखरीसँग सम्बन्ध भएका व्यक्तिहरु हैनन् भन्ने छ। एउटाको हातमा माछा मार्ने जाल नै थियो। अर्काले तार नै समाएको थियो। गाउँलेहरुले देखेपछि बिहान सात बजेतिर प्रहरीलाई खबर गरे,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले भने। शवलाई पोस्टमार्टम गर्न भरतपुर अस्पताल ल्याइएको उनले जानकारी दिए।
त्यसैगरी सोधपुछका लागि माछा पोखरीका मालिकमध्ये दुई जनालाई पनि प्रहरी कार्यालय ल्याएको उनले बताए।


























